पार्टीभित्रको विवादका बेला कुनै पक्षमा खुलेर नबोल्ने गरेका महासचिव पौडेल केपी ओलीलाई हटाउने तयारीको भने खुलेर विपक्षमा उभिएका छन् ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा अनलाइनखबरसँग विशेष कुराकानी गर्दै नेकपा महासचिव पौडेलले ओलीको राजीनामा माग्ने कुरा अनुचित र असान्दर्भिक भएको बताए ।
भैंसेपाटीस्थित निवासमा कुरा गर्दै उनले ‘राजनीतिक अस्थिरता र पार्टीलाई अकल्पनीय संकटमा धकेल्ने राजीनामाको प्रस्ताव’ प्रचण्ड र माधव नेपाल लगायतका नेताले फिर्ता लिने विश्वाससमेत व्यक्त गरे ।
केही दिनअघि नेता बामदेव गौतमको निवासमा भएको भैंसेपाटी गठबन्धनको बैठकमा सहभागी भएपछि महासचिव पौडेलको भूमिकाबारे पार्टीमा चर्चा चलिरहेकै बेला उनले केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न नहुने पक्षमा उभिएका हुन् ।
महासचिवको हैसियतले उनी नेताहरुबीच समझदारी कायम गर्न लागिरहेका छन् । पौडेलले भने, अहिले प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव नै अनुचित छ । उहाँले पार्टी र सरकारको नेतृत्व छाड्नुपर्ने कारण छैन र छाड्नु पनि हुन्न ।’
केपी ओली र प्रचण्डबीच केही असमझदारी देखिएको भएता पनि समझदारीमा फर्किने पौडेलको विश्वास छ । अनलाइनखबरसँगको कुराकानीमा महासचिव पौडेलले भने, ‘दुई अध्यक्षबीच असमझदारी देखिएकै हो, तर उहाँहरु आपसमा बसेर समझदारीअनुसार निर्णय गर्ने अभ्यासमा फर्किर्नैपर्छ, अरु विकल्प छैन ।’
नेकपामा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने अवस्था अहिले नरहेको भन्दै पौडेलले पार्टीका कुनै पनि संरचना सरकारको नेतृत्व परिवर्तनका पक्षमा नरहेको दाबी गरे । स्थायी कमिटी बैठक माग गर्ने नेताहरुको माग सरकारले सम्बोधन गरिसकेकाले अहिले बैठक आवश्यक नरहेको महासचिव पौडेलले बताए ।
सचिवालय बैठकबाट नेकपा पुनः समझदारीको अभ्यासमा फर्किने भन्दै उनले बामदेव गौतमलाई आफ्नो विकल्पमा अघि सार्ने प्रस्तावमा प्रधानमन्त्री प्रतिवद्ध रहेको समेत बताए । तर, यसको थप व्याख्या भने उनले गर्न चाहेनन् ।
प्रस्तुत छ, नेकपा महासचिव पौडेलसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले शनिबार मध्यान्ह गरेको कुराकानी–
प्रधानमन्त्रीले राजिनामा नदिए हटाउने तयारी भइरहेको छ, तपाईले उहाँको पोजिसन के पाउनुभएको छ अहिलेसम्म ?
यतिबेला प्रधानमन्त्रीको राजीनामाको माग असामयिक, र जनताको हित, राष्ट्रिय आवश्यक तथा कम्युनिस्ट आन्दोलनको भविश्यका दृष्टिकोणले अनुचित प्रस्ताव हो । त्यसकारण प्रधानमन्त्रीले राजीनामा दिन हुँदैन र उहाँले दिनु पनि हुन्न ।
म के देख्दैछु भने, राजीनामा माग्ने प्रस्तावबाट साथीहरु सहमतितर्फ फर्किनुहुन्छ ।
प्रचण्डले त दुइटै पद छाड्न दवाव दिसक्नुभएको छ, हिजो पनि प्रचण्ड र माधव नेपालसहितको बैठक बसेर राजिनामा नदिए हटाउने कुरा भएको छ, तपाईले भनेजस्तो सहज छ र ?
हामीले सरकारको र पार्टीको कामबारे समीक्षा गर्दै पनि आएका छौं र फेरि पनि गर्न सकिन्छ । केही समयअघि सम्पन्न पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकमा पनि सरकारको कामको, पार्टीको कामको समीक्षा गरेका छौं । पार्टी कामको समीक्षा हुन सक्छ । तर, यतिबेला सरकारको र पार्टीको नेतृत्व परिवर्तनको विषय अघि सार्नु गलत कुरा हो ।
यसको प्रभाव के हुन्छ, यसका परिणामहरु के हुन्छन् भन्ने समग्र पक्षमा विश्लेषण नगरिकन यस्ता प्रकारका प्रस्ताव लिएर आउने कुराले आम जनतामा निराशा सम्प्रेषण गरेको छ । यस्तो क्रियाकलापले नेपाली कम्युनिस्ट आन्दोलनलाई पनि गम्भीर नोक्सानी पुर्याउन सक्छ ।
0 on: "नेकपा महासचिव भन्छन्– ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्नुहुन्न"