विराटनगरको कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र)मा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीको टोलीको एक सदस्य नर्स पुनम साह पनि हुन् ।
साह विराटनगर १० की बासिन्दा हुन् । साना
दुई छोरालाई घरै छाडेर उनी संक्रमितको सेवामा खटिएकी छन् । ‘घरमा दुई छोरा र
म बस्छौं,’ उनी भन्छिन्, ‘दुवै छोरा सानै छन् । खाना खाए कि भोकै छन्
भन्ने चिन्ता लाग्छ ।’
संक्रमितको उपचारमा खटिएयता उनी घर जान
पाएकी छैनन् । संक्रमितको उपचारमा खटिने चिकित्सकलाई प्रदेश सरकारले होटलमा
क्वारेन्टाइन बस्ने व्यवस्था मिलाइदिएको छ ।
‘क्वारेन्टाइनमा बस्न थालेपछि छोरासँग
फोनमा कुरा गर्छु,’ उनी भन्छिन्, ‘उनीहरुले पनि चिन्ता नलिनु भन्दै हौसला
दिन्छन् ।’ पुनका १६ र ८ वर्षका दुई छोरा छन् ।
२०५९ सालदेखि नर्सिङ पेसामा प्रवेश गरेकी
उनी कोशी अस्पतालको नर्सिङ अधिकृत हुन् । १८ वर्षको जागिरे जीवनको सबैभन्दा
चुतौतिपूर्ण क्षण चार दिनयता अनुभव गरिरहेकी बताउँछिन् उनी ।
‘अस्पतालले काममा खटाएपछि आफ्नो दायित्व ठानेँ,’ उनी भन्छिन्, ‘यो हाम्रोलागि सेवा गर्ने अवसर पनि हो ।’
तर फ्रन्टलाइनमा काम गर्दा नर्सहरु सधैं
ओझेलमा पर्ने गरेको उनको गुनासो छ । ‘संक्रमितको उपचारमा हामी सधैं अगाडि
हुन्छौं,’ उनी भन्छिन्, ‘तर नर्सको मूल्यांकन हुँदैन ।’
अस्पतालको परिचयपत्र देखेर मान्छेहरु तर्किए
पुनमको डिउटी यसअघि कोशी अस्पतालको
आइसोलेसन वार्डमा थियो । आइसोलेसनमा काम गरेको थाहा पाएपछि उनलाई छिमेकीले
घर नआउन भने । ‘अस्पतालबाट हिँड्दै घर जाँदा कोशी अस्पतालको परिचय पत्र
देखेर बाटोमा हिँड्नेहरु मसँग तर्किए,’ उनी भन्छिन्, ‘छिमेकीले घर नआउनू
भन्दै सल्लाह दिए ।’
पुनमका छोरालाई होम ट्युसन पढाउन एक
शिक्षिका आउँथिन् । तर कोशीको आइसोलेसनमा काम गर्न थालेको जानकारी पाएपछि
ती शिक्षिका पनि आउन छाडिन् । टोलमा प्रश्न सोध्नेलाई उनले आफू जोखिम भएपछि
क्वारेन्टाइनमा बस्ने जवाफ दिएको उनले बताइन् ।
अस्पताल र प्रदेश सरकारले काममा हौसला
प्रदान गरेका कारण काम गर्न ऊर्जा थपिएको उनी बताउँछिन् । ‘मलाई आफ्नो
जिम्मेवारी पूरा गर्न जहाँ पठाए पनि जान्छु,’ उनी भन्छिन् ‘संकटको बेला
हामी भाग्न मिल्दैन ।’
सुनिताको अनुभव : डिउटी पाउँदा गाउँमा सुनाएँ
कोरोना अस्पतालमा विराटनगर ढाटकी सुनिता
गडेरीले पनि काम गर्छिन् । गत माघदेखि उनी स्कुल हेल्थ नर्सिङ कार्यक्रममा
खटिएकी थिइन् । तर लकडाउनका कारण खोटाङ कार्यक्षेत्र जान नपाएकी उनलाई
प्रदेश सरकारले कोरोना उपचार केन्द्रमा खटाएको छ ।
चार दिनयता कोरोना संक्रमितको उपचारमा
खटिएकी उनी संक्रमितको सेवा गर्न पाउँदा उत्साहित भएको बताउँछिन् । ‘कोभिड
१९ अस्पतालमा खटिने तालिम लिएपछि गाउँमा सुनाएँ,’ उनी भन्छिन्, ‘यहाँ काम
गर्न पाउदा एक्साइटेड छु । घर परिवारबाट पनि सहयोग छ ।’
मेची अस्पतालमा कार्यालय सहयोगी लिला
भट्टराईको ड्युटी पुनम र सुनितासँगै छ । उनी पनि सेवामा काम गर्न पाउनु
आफ्नो अवसर भएको बताउँछिन् ।
0 on: "फ्रन्टलाइनमा नेपाली नर्स : छिमेकीले घर नआऊ भने, छोराहरु भोकै छन् कि भनेर चिन्ता लाग्छ"