Friday, May 15, 2020
विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस्
३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घटना हुन्थे वा हुन्थेनन्, अहिले अनुमान गर्न कठिन हुन्छ ।
बुबा र मदन अंकल पोखरा हुँदै चितवन जानुभन्दा अघिल्लो दिन १ जेठ ०५० मा काठमाडौमा भीषण वर्षा भएको थियो । हामी त्यतिबेला डल्लुमा बस्थ्यौं । बुबा तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय रहेको बागबजारबाट डेरा आउँदै गर्दा पानी परेकाले म छाता लिएर डल्लु पुल नजिक गएँ । उहाँ एउटा पसलमा ओत लागेर बस्नुभएको थियो । मैले बुबालाई छाता ओडाएर ल्याएँ । मेरो जीवनमा बुबासँगको त्यो नै अन्तिम यात्रा बन्न पुग्यो ।
भोलिपल्ट २ जेठमा बुबा पोखरा जानुभयो । म र भाइ (डा. सागर न्यौपाने) स्कूल गइसकेका कारण बुबा घरबाट निक्लँदा हाम्रो भेट भएन ।
बुबालाई पेटको रोग थियो । डा. सुन्दरमणि दीक्षितले अल्सर भइसकेको बताउँदै धेरै हिँडडुल नगर्न, बाहिर खाना नखान सुझाव दिनुभएको थियो ।
तर, पार्टी महासचिव (मदन भण्डारी) र संगठन विभाग प्रमुख (बुबा) पोखरा हुँदै चितवन जाने कार्यक्रम पहिल्यै तय भएकाले उहाँहरु जानुभयो ।
पोखराबाट चितवन पुगेर अखिल नेपाल महिला संघको केन्द्रीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम थियो । त्यतिबेला पार्टीका मुख्य कार्यक्रम, सभा–सम्मेलन र निर्णयहरु मदन अंकल र बुबाकै सल्लाहमा हुन्थे ।
मदन अंकल र बुबा २ जेठमा पोखरा पुगेर हरि पाण्डेको घरमा बास बस्नुभयो । ३ जेठको बिहान खान खाएर अमर लामाले चलाएको जीपमा चितवन जाँदै गर्दा दासढुंगामा घटना भयो । मदन भण्डारी र बुबालाई हामीले सदाका लागि गुमायांै ।
त्योबेला हाम्रो डल्लुको डेरामा ल्याण्डलाइन फोन थियो । चितवनतिर लाग्नुअघि बुबाले हरि पाण्डेको घरबाट गर्नुभएको फोन मैले नै उठाएकी थिएँ । बुबाले भन्नुभएको थियो, “चस्मा लगाउन नबिर्सनू, नत्र आँखा बिग्रन्छ । अनि ममी र भाइको ख्याल गर्नू ।”
Subscribe to:
Post Comments (Atom)
0 on: "विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस्"