कोरोनाभाइरसको महामारीले प्रभावित परीक्षा र आगामी शैक्षिक सत्रको विकल्पबारे बहस सुरु भएको छ ।
विशेषतः माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजीको विषय बलियो ढङ्गले उठेको छ कोरोनाका
कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भएपछि विकल्पको खोजी सुरु
भएको हो । यो विषय सङ्घीय संसदको समिति र सदनमा प्रवेश भएको छ ।शुक्रबार
सङ्घीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री डा.
बाबुराम भट्टराईले यतिबेला विद्यार्थीलाई ठीक ढङ्गले ओरेन्टेसन गरिएन भने
उनीहरुमा मनोरोग आउने गम्भीर खतरा पैदा भएको जिकिर गरेका थिए ।
उनले
भने, ‘करिब ६४ लाखभन्दा बढी विद्यार्थीहरु लकडाउनमा घरमै बसिरहेको छन् ।
यो युवा अवस्थामा उनीहरुको मस्तिष्क कोमल हुन्छ । उनीहरुलाई ठीक ढङ्गले
ओरेन्टेसन गरिएन भने मनोरोग आउने गम्भीर खतरा पनि रहन्छ । सम्पन्नहरुले त
डिजिटल प्रविधिको प्रयोग गरेर उनीहरुलाई भुल्याएका छन्, पढाएका छन् । जो
मध्यम वर्ग र गरिब छन्, जहाँ प्रविधिको पहुँच छैन । त्यहाँ यति लामो समय
खाली बस्नुपर्दा उनीहरुमा छट्पटी भएको छ ।’
भट्टराईले एसईई आवश्यक नरहेको भन्दै खारेज गर्नुपर्ने सुझाए ।
‘म
सुझाव दिन चाहन्छु– एसईई लिन आवश्यक नै छैन । त्यो खारेज गर्दा हुन्छ ।
यसै पनि माध्यमिक शिक्षा १२ कक्षासम्म भइसकेपछि १० कक्षाको खास अर्थ रहँदैन
। फेरि हामी ग्रेड सिस्टममा गइसकेका छौँ । त्यसैले अहिले नै तिमीहरुको
परीक्षा हुँदैन । आआफ्नो स्कुलले नम्बर दिन्छ, अब उच्च शिक्षाको तयारीमा
लाग भनिदिने हो भने उनीहरु निस्फ्रिक्री भएर बस्न सक्छन्,’ भट्टराईले भने
।
यता छायाँ शिक्षामन्त्री गगन थापा पनि यतिबेला एसईई खारेजीको उपयुक्त समय भएको बताउँछन् ।
‘यसपालि
परीक्षा के गर्ने भन्ने कुरा छ । १० कक्षालाई आन्तरिक मूल्याङ्कनका आधारमा
११ कक्षामा पठाऊँ, ११ लाई १२ मा पठाऊँ भन्ने कुरा आइरहेको छ । मेरो भनाइ
यो एसईई खारेज गर्ने राम्रो एउटा मौका आएको छ, एसईई खारेज गरौँ,’ उनले भने,
‘हामीलाई यो ढाँचाको परीक्षा चाहिँदैन । किनभने अहिले कक्षा १२ बाट बोर्ड
परीक्षा हुने भएकाले १० कक्षाको एकै ठाउँमा बसेर लिने परीक्षाको कुनै
आवश्यकता नै छैन ।’
एसईईले सिकाइमा पनि कुनै मद्दत नगरेकाले त्यसको औचित्य नरहेको थापाको ठहर छ ।
‘एसईईले
हाम्रो सिकालाई कुनै मद्दत पनि पुर्याएको छैन । बरु हाम्रो समस्यालाई
ढाकछोप गर्न मद्दत गरेको छ । किनभने हाम्रो समस्या सिकाइमा हो । हामीले
एसईई पास हुने कुरालाई ग्रेडिङतिर लगेर २५ नम्बर प्राक्टिकल दिने र ५ नम्बर
अन्य राख्ने सिस्टम बनायौँ । त्यसले परीक्षाबाट बढीभन्दा बढी
विद्यार्थीलाई बाहिर निकाल्ने काम मात्र भयो । काहीँ कतै केही फाइदा गरेन ।
बरु यसले विद्यार्थीको जीवनामा अनावश्यक मनोवैज्ञानिक दबाब मात्र पार्यो
।’
तर पहिलेदेखि गरिँदै आएकाले १० कक्षाको परीक्षा रोक्न नहुने तर्क
पनि आइरहेको छ । यस विषयमा थापाले भने, ‘हामीले त आवश्यकता भएको कुरा गर्दै
जाने हो, आवश्यक नभएको कुरालाई बदल्ने हो, त्यसैले यसरी १० कक्षाको
परीक्षा लिने कुरा बन्द गरौँ । जसरी ८ र ९ कक्षाको परीक्षा लिन्छौँ १० को
पनि त्यसरी नै गरौँ भन्ने हो ।’
त्यस्तै सांसद थापाले कोरोना भाइरसको
सङ्क्रमण र लकडाउनका कारण विद्यालयहरु बन्द भए पनि विद्यार्थीहरुलाई
अन्तर्क्रियात्मक क्रियाकलापमा सहभागी गराउन सकिने बताए ।
विभिन्न
देशमा सुरक्षा सावधानी अपनाएर विद्यालय खोलिएको उल्लेख गर्दै विज्ञहरुको
सुझाव बमोजिम चल्न शिक्षा मन्त्रालय र सरकारलाई थापाको सुझाव छ ।
‘भियतनाममा
भाइजर लगाएर नै विद्यार्थीलाई विद्यालय लगिएको छ । उहानमा
विश्वविद्यालयहरु खुलेका छन् । हाम्रोमा के गर्ने भन्ने विषयमा व्यापक छलफल
गरेर निर्णय लिऔँ,’ थापाले भने ।
विद्यालय बन्द हुँदा शिक्षक र
विद्यार्थीबीच भौतिक सम्बन्ध मात्रै हुन नसकेको भन्दै थापाले विद्यालयबाहिर
पनि सिक्ने सिकाउने वातावरण सिर्जना गर्न सकिने बताए ।
शिक्षक र विद्यार्थीबीच भेटघाट नहुँदासम्मका लागि के गर्ने भन्ने योजना बनाउन पनि उनले सुझाव दिए ।
उनले
भने, ‘अवस्था सामान्य नहुँदासम्मका लागि विद्यार्थीलाई विभिन्न माध्यममा
अन्तर्क्रियामा सहभागी गराउन सकिन्छ । विद्यालयबाटै सिकाएजस्तो सिकाउन
नसकिएला । त्यसका लागि यो बेलामा सबै विषय नपढाएर कुनै विषयमा केन्द्रित
गर्दा राम्रो हुन्छ ।’
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पनि
भट्टराई र थापाको कुरामा समहत देखिए । ‘म पनि एसईई खारेज हुनुपर्छ भन्ने
अभियानमा छु,’ उनले दुईवटा आधार दिँदै भने, ‘एउटा आधार भनेको ८ कक्षाको
परीक्षा आधारभूत अन्त्यको भयो । १२ कक्षाको परीक्षा माध्यमिक अन्त्यको भयो ।
९, १० र ११ को परीक्षा केको हो भनेर कसैले भन्न सक्ने अवस्था छैन ।
त्यसैले यो खारेज गरिदिनुपर्छ ।’
0 on: "एसईई खारेजी र विकल्पको बहस : शिक्षामन्त्रीको अस्पष्ट नीतिले विद्यार्थी तनावमा"