जनस्वास्थ्यमा पार्ने सम्भावित महामारी, त्यसको रोकथामका लागि लिइएको
कदमले अर्थतन्त्रमा परेको झटका र विश्व अर्थतन्त्रमा आएको प्रभावको संयुक्त
रूप हो कोरोना संकट ।
अन्य कुनै पनि बेला यी मध्ये कुनै एक सङ्कट मात्र हुँदा सार्वजनिक नीति
निर्माण र वित्त व्यवस्थापन चुनौती पूर्ण रहने अवस्थामा अहिले तीनैवटा
सङ्कट एकैचोटि झेल्नुपरेको अभूतपूर्व अवस्था हाम्रो सामु छ ।
एकातिर महामारीले गर्दा तत्कालीन अवस्थामा स्वास्थ्य सेवामा बढोत्तरी र
अन्य आकस्मिक दायित्वहरूको श्रृजना गरेको छ भने अर्कातर्फ सरकारको राजस्व
संकलनको क्षमता घटाएर देशको सार्वजनिक वित्त माथि दबाव पारेको छ । साथै, यस
महासङ्कटले समष्टिगत आर्थिक सन्तुलनमा पनि नकारात्मक प्रभाव पर्न सक्ने
अनुमान गर्न सकिन्छ ।
यस्ता प्रभावहरूको निराकरण गर्न लिइने नीतिगत उपायहरूले नयाँ वित्तीय
जोखिम पनि पैदा गर्न सक्ने कुरामा सजग हुनुपर्छ । यस्तो अवस्थामा सामान्य
अवस्थामा पारम्परिक ढङ्गले तर्जुमा हुने वार्षिक बजेटले आजको र आगामी
दिनहरूका चुनौती हरू सामना गर्न सक्दैनन् । त्यसैले बजेटलाई आधारभूत रूपमा
परिमार्जन गर्न र परिष्कृत बनाउन आवश्यक छ ।
यसका लागि ऐतिहासिक र दीर्घकालीन परिप्रेक्ष्यबाट सार्वजनिक वित्तलाई
हेर्नु उपयुक्त हुन्छ । यसै सन्दर्भमा निम्न ग्राफहरू उपयोगी हुन सक्छन् ।
१. नेपालमा बजेटको आकार बढ्दो क्रममा छ । दुई दशक करिब
७७ अर्बको बजेट बन्ने गरेकोमा हाल साढे १३ खर्ब छ । पहिलो दशकमा करिब १२
प्रतिशत भन्दा कमले बढेको बजेटको आकार दोस्रो संविधान सभाको चुनावपछि २०
प्रतिशतले बढेको छ । २०७२ सालको भूकम्पपछि सरकारले गर्ने खर्च तीव्र गतिमा
बढेको देखिन्छ ।
संघीयताको कार्यान्वयनले गर्दा पनि बजेटको आकार बढेको हो। तर, सोही
अवधिमा हाम्रो खर्च गर्ने क्षमता क्रमशः क्षय भएको देखिन्छ । २०७६
चैत्रसम्मको खर्चको दरलाई मात्र पनि कायम राख्न सकेमा पनि बजेटको करिब ७८
प्रतिशत मात्रै खर्च हुने देखिन्छ । यसले के देखाउँछ भने हाम्रो क्षमता
अनुसारको बजेट ल्याउने हो भने करिब ११ खर्बको ल्याए हुन्छ ।
सरकारका थप खर्च र दायित्वहरूको लागि पूर्णरूपमा नयाँ स्रोतमा भर पर्नु
भन्दा खर्च पुनःप्रवर्तीकरणको उपायहरूबाट पूरा गर्नु वाञ्छनीय हुन्छ । यसका
लागि अत्यावश्यक इतरका कार्यक्रमका बजेट कटौती गरी कोभिड १९ को प्रभावबाट
बच्न आवश्यक क्षेत्रमा सुनिश्चित गर्न जरुरी हुन्छ ।
0 on: "१० वटा ग्राफमा बुझौं बजेट र अर्थतन्त्र"