Wednesday, May 6, 2020
बुद्ध जयन्तीमा सुनसान लुम्बिनी (फोटोफिचर )
आज २५६४ औं बुद्ध जयन्ती । लुम्बिनीमा सामान्य औपचारितामा बुद्ध जयन्ती मनाइँदै छ । यहाँ सुनसान रुपमा बुद्ध जयन्ती पहिलो पटक मनाइएको हो । बुद्धजयन्ती मनाउन लागेको कैयौ वर्ष भयो । अहिलेको बुद्ध जयन्ती जस्तो सुनसान लुम्बिनी कहिल्यै रहेन । लुम्बिनीबासीले यस्तो अवस्था कहिल्यै नआओस् भन्दै प्रार्थना समेत गरेका छन् । बुद्धजयन्तीको पूजापाठ समेत महामारी अन्त्यको कामना सहित गरिएको छ ।
गत वर्षको बुद्ध जयन्तीमा लुम्बिनीमा १० हजार बढी श्रद्धालु सहभागी थिए । लुम्बिनी विकास कोषले तीन दिने कार्यक्रम आयोजना गरेर बुद्धजयन्ती मानाउने गर्दथ्यो ।
बुद्ध जयन्तीकै लागि सयौं भिक्षु भिक्षुणी तेस्रो मुलुकबाट लुम्बिनी आउँथे । कोरोना महामारीका कारण अहिले भने लुम्बिनी सुनसान छ । लुम्बिनीकै विहारमा रहेका केही भिक्षु बाहेक बौद्धस्थलमा कुनै व्यक्ति छैनन् । न त बुद्धजयन्तीका लागि गरिने सिगारपटार नै छ ।
विकास कोषले करोडको लगानीमा सजाउने लुम्बिनीमा अहिले कृतिम वस्तु राखिएको छैन । प्रकृतिले हरियाली बनाएको छ । सारसलगायतका चराचुरुङगी, बादर, निलगाईसहितका जनावरहरु मात्रै लुम्बिनीमा भेटिन्छन् ।
आज बुद्ध जयन्तीको दिन लुम्बिनीमा कोरोना महामारीको सन्त्रास र विश्वशान्तिको कामनासहित शान्ति पूजा गरिएको छ । बिहान मायादेवी मन्दिरमा भएको उक्त पूजामा लुम्बिनी भित्रै रहेका भिक्षुहरु सहभागी भए । विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश वाचन गरे ।
साँझ मायादेवी परिवरमा दीप प्रज्वलन हुनेछ । २५ सय ६४ वटा दीप प्रज्वलनसहित बुद्धजयन्तीको समापन हुनेछ । यी कार्यक्रमा पनि विकास कोषका केही कर्मचारी र लुम्बिनी भित्र रहेका भिक्षुहरु सहभागी भएका छन् ।
विगतका वर्षमा बुद्ध जयन्तीमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने कार्यक्रम हुन्थे । बौद्ध स्तुती, पुरस्कार वितरणका कार्यक्रम समेत रोकिएका छन् । यो वर्ष अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी समेत थियो ।
ती सबै कार्यक्रम कोरोनाका कारण स्थगित भएका छन् ।'शारीरिक दुरी कायम राख्दै शान्ति पूजा र दस्प प्रज्वलनका कार्यक्रम हुँदैछन्, उपाध्यक्ष भिक्षु मैत्तेयले भने ।
Subscribe to:
Post Comments (Atom)
0 on: "बुद्ध जयन्तीमा सुनसान लुम्बिनी (फोटोफिचर )"