कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।
बिहीबार ललितपुरको पाटन अस्पतालमा उपचार दुई जना कोरोना जितेर डिस्चार्ज भएका छन्। पाटन अस्पतालमा उपचाररत कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरु चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए।
आरडीटी प्रविधिबाट परीक्षण गर्दा उक्त अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको थियो। पुन: परीक्षण गराउँदा दुई जनामा मात्र संक्रमण देखिएपछि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।
उनीहरुलाई मूलपानीस्थित नगर अस्पतालका सुरक्षाकर्मी र सेनाको टोलीले र्यापिड टेस्ट प्रविधिमार्फत परीक्षण गरेको थियो। नमूना रिपोर्टमा पोजेटिभ देखिएपछि पुन: परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।
नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। बिहीबार दुई जनाको डिस्चार्ज भएसँगै निको हुनेको संख्या ९ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेमा काठमाडौंका ३ धादिङका १, बागलुङका १ र धनगढीका ३ जना रहेका छन्। एकजना फागुन महिनामै डिस्चार्ज भइसेका छन्।
कोरोना भाइरस आशंकामा पीसीआर र आरडीटी विधिबाट ४३ हजार ७ सय २२ को नमुना परीक्षण गरिएको छ। गत २४ घन्टामा ३ हजार ३ सय ५ नयाँ नमुना परीक्षण गरिएको छ।
सबै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ। प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागमतीमा ६ हजार १ सय ५५, गण्डकीमा ४ हजार ५सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णालीमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ३५ वटा नमुना परीक्षण गरिएको छ।
0 on: "१४ वर्षीय बालकमा कोरोना : संक्रमितको संख्या ४७ पुग्यो"