सर्लाहीका एक जना किशोरमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। गत शुक्रबार पिसिआर जाँच गराउन जनकपुरधाम ल्याइएका १४ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।
सर्लाहीको धनकौल गाउँपालिका घर भएका उक्त किशोरको गत शुक्रबार आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर जाँचका लागि ल्याइएको थियो ।
किशोर गत चैत २३ गते भारतको राजधानी दिल्लीबाट धनकौल फर्केका थिए।
भारतबाट आएको जानकारी पाएपछि प्रहरीले उनलाई गाउँकै क्वारेन्टाइनमा राखेको थियो।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाले पनि सो कुराको पुष्टि गरे।
उनले भने, ‘सुरूमा पिसिआर जाँच गर्दा नेगेटिभ नै आएको थियो तर पछि शंका लागेर पुनः चेकका लागि रिपोर्ट काठमाडौं पठाइयो जसमा पोजेटिभ नतिजा आएको छ।’
स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का वरिष्ठ प्रशासक डाक्टर विजयकुमार झाले भने, ‘प्रादेशिक अस्पतालमा रिपोर्ट नेगेटिभ देखिए पनि हामीले पुनः जाँचका लागि उक्त रिपोर्ट काठमाडौं पठाएका थियौं जुन रिपोर्टमा कोरोनाको रिजल्ट पोजेटिभ देखिएको छ।
उनका अनुसार किशोरको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई सर्लाही पठाइएको थियो।
उनले भने, ‘अहिले हामी यहाँबाट एम्बुलेन्स पठाउँदै छौं किशोरलाई अहिले घरमा राखिएको छ वा क्वारेन्टाइन हामीलाई जानकारी छैन, घरमा भए तत्कालै सर्लाहीबाट नजिक पर्ने नारायणी वा प्रादेशिक अस्पताल जनकपुर ल्याई आइसोलेसनमा भर्ना गरिने छ।’
किशोर दिल्लीमा मजदुरी गर्दै आएको खुलेको छ।
0 on: "लकडाउनकै बेला दिल्लीबाट आएका थिए सर्लाहीका १४ वर्षीय संक्रमित किशोर"