कोरोना भाइरस (कोभिड–१९) का कारण अरूजस्तै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन भने एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक गर्न सकिएको छैन । यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ ।
साथै, कारोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘कोरोनाको त्रास कहिलेसम्म रहन्छ, कसैलाई पनि थाहा छैन । भारतमा कोरोना अन्त्य नभएसम्म हामी सधँै त्रसित हुनुपर्ने भएकाले शिक्षामा वैकल्पिक व्यवस्था गर्न लागेका छौँ ।’
लकडाउन खुलेको एक सातामा रिजल्ट
मन्त्रालयकाअनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी छ । यसबारे शिक्षामन्त्री गिरिजामणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरेका थिए ।
प्रदेश मन्त्रीहरूले पनि एक हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका थिए । अधिकांश विद्यालयहरूले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतसम्ममा सम्पन्न गरेका थिए । अधिकांश विद्यालयले उत्तरपुस्तिका जाँचेर नतिजा तयार पारिसकेको जानकारी आफूहरूले पाएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।
नतिजाका लागि लकडाउन खुल्नु पर्दैन–शिक्षाविद्
तर, एक महिनासम्म परीक्षाको नतिजा रोकिँदा विद्यार्थीमा बेचैनी बढेको शिक्षाविद्हरू बताउँछन् ।
शिक्षाविद् डा. मनप्रसाद वाग्ले सामाजिक दुरी कायम राखेरै परीक्षाको नतिजा सार्वजनिक गर्न सकिने बताउँछन् । ‘आफ्नो परीक्षाको नतिजा के भयो होला भनेर बसिरहेका विद्यार्थी नतिजा आएपछि खुसी हुन्छन्’ वाग्ले भन्छन्, ‘भइसकेको परीक्षाको नतिजा रोकेर विद्यार्थीलाई थप अन्योलमा राख्नुहुँदैन ।’
कोभिड–१९ को महामारीका कारण लकडाउन गर्नुपर्ने अवस्था आएपछि शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैत भित्रै सम्पन्न गर्न निर्देशन दियो । मन्त्रालयको निर्देशनअनुसार लकडाउनअघि नै विद्यालयहरू परीक्षा सञ्चालन गरे ।
0 on: "जेठ १५ अगाडि विद्यालय खुल्दैनन्, रिजल्ट लकडाउन खुलेको एक साताभित्र"