टिपरहरु ढुंगा माटो बोकेर दौडिरहेका छन् । डोजर माटो खन्ने र सम्याउने काममा व्यस्त छ । सेता, पहेँलो हेलमेट कामदारहरुको चहलपहल पनि उस्तै छ ।
यो हो, कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी जलविद्युत आयोजना ।लकडाउनका कारण पोखरा मात्र होइन, सिंगो देशमा चहलपहल बन्द भएको बेला मादी किनारको कलबन्दी र सोंदाको सुपर मादी जलविद्युत आयोजनामा भ्याइनभ्याइ छ यतिबेला । मादी गाउँपालिका ताङतिङ गाउँबाट ४ किलोमिटर पर छ सुपर मादी हाइड्रो । कलबन्दी भन्ने ठाउँमा जलविद्युत आयोजनाको ड्यामसाइट र सुरुङ मार्गलगायतका काम भइरहेको छ भने सोंदा भन्ने ठाउँमा पावर हाउस निर्माणको काम चलिरहेको छ ।
कोरोना भाइरस कोभिड–१९ ले विकास आयोजनाहरु प्रभावित भइरहेका बेला सुपर मादी हाइड्रोपावर लिमिटेडले भने एरिया सिल गरेर काम गरिरहेको छ । ४४ मेगावाट क्षमताको सुपर मादीमा अहिले ४ सय ५० जना कामदारले काम गरिरहेका छन् । कामदारलाई बाहिर जान नदिने र बाहिरबाट कामदार नल्याउने गरी आयोजना निर्माणको काम भइरहेको सुपर मादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।
‘कोरोना भाइरसका कारण विश्व नै प्रभावित हुँदा मादी सुपर हाइड्रो पनि अछुतो रहने कुरा भएन । तै पनि लकडाउनभन्दा अगाडिदेखि नै ल्याइएका निर्माण सामाग्रीबाट काम अगाडि बढिरहेको छ,’ ढुंगानाले अनलाइनखबरसँग भने, ‘यो आयोजनामा ४५० जनाले सतर्क रहँदै काम गरिरहनुभएको छ ।’ ७५० भन्दा बढी मजदुर कार्यरत भएपनि लकडाउनभन्दा पहिले केही कामदार घर गए । बिदामा गएकाहरुलाई पनि तत्काल काममा नअनाउन भनिएको साइट इन्जिनियर दीपक देवकोटाले जानकारी दिए ।
0 on: "लकडाउनले नछोएको सुपरमादी, जहाँ ४५० कामदारलाई भ्याइनभ्याइ छ"