विभाजनको चर्चाबीच राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा एकता भएको छ। पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। राजपाबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति-पत्रमा हस्ताक्षर गरेका छन्।
पार्टी विभाजनलाई सहज बनाउन सरकारले युद्धस्तरमा सोमबार अध्यादेश जारी गरेपछि समाजवादी फुट्ने अनुमान गरिएका बेला समाजवादी र जनता पार्टीबीच रातारात एकता भएपछि राष्ट्रिय राजनीतिक फेरि तरंगित भएको छ। एकता सहमतिपछि दुवै पक्षका नेताहरुले समाजवादीलाई फुटाएर आफू बलियो र सुरक्षित हुने प्रधानमन्त्री केपी ओलीको योजना असफल भएको प्रतिक्रिया दिएका छन्।
राजपा र समाजवादी एकतापछि उनीहरुको संघीय संसदमा उनीहरुको संख्या ३४ पुगेको छ । यसअघि राजपा र समाजवादीमा १७ १७ सांसद थिए । त्यस्तै एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ। त्यसैगरी चुनाव चिन्ह भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ। प्रधानमन्त्री ओलीको निर्देशनमा अपहरण शैलीमा सुरेन्द्र यादवलगायतका केही नेताहरुलाई राजधानीको मेरिएट होटलमा ल्याएर राखिएको आरोप समाजवादी पार्टीले लगाएको छ। सुरेन्द्र लगायतका नेताहरु बिहीबार बिहान बाबुरामलगायत एकीकृत पार्टीका नेताको सम्पर्कमा आएका छन्। समाजवादी पार्टीका उपाध्यक्ष एवं सांसद रेणु यादवको नेतृत्वमा पार्टी फुटाएर नयाँ पार्टी बनाउन ती सांसदले हस्ताक्षर गरेका थिए। हस्ताक्षर गर्नेमा यादवसहित सांसद महम्मद इश्तियाक राई, प्रदीप यादव, उमाशङ्कर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादवलगात छन्।
सरकारले केही दिनअघि दल विभाजनलाई खकुलो पार्ने अध्यादेश जारी गरेपछि सरकारी संयन्त्रको समेत सहयोगमा समाजवादी पार्टीका असन्तुष्ट केही सांसदले पार्टी विभाजन गर्ने तयारी गरेका थिए। बुधबार दिनभर समाजवादी विभाजन हुने चर्चा चल्यो । तर मध्यरातमा आम अनुमान र आशंकाविपरीत दुई पार्टीबीच एकताको घोषणा भयो।
सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजनका लागि खुकुलो हुने गरी अध्यादेश ल्याएपछि यी दुई पार्टीलाई आफ्ना सांसद्हरु ४० प्रतिशत सङ्ख्या लिएर बाहिरिने तयारीसँगै दुई पार्टी एकता प्रयास पनि युद्धस्तरमा गरिएको थियो। पार्टीभित्रको असन्तुष्टिमा सरकारले खेल्न खोजेपछि हतारमा पार्टी एकताको सहमति गरिएको छ । यी दलबीच एकताका लागि वार्ता भने लामो समयदेखि चल्दै आएको थियो ।
0 on: "फुट्ने हल्लाबीच मध्यरातमा यसरी जुट्यो समाजवादी र राजपा"