आज लकडाउनको २५ औं दिन। चैत ११ गते सुरु
भएको लकडाउनले आजसम्म महलमा बस्ने र गाडीमा गुड्नेलाई आरामै होला। सत्तामा
बसेका केही नायकले भाषणमा जनताको चिन्ता गरेकै छन्। रोग पहिचानका लागि
प्रयोगशालामा सरकारले लगानी गरेकै छ। केही कमरेडलाई लकडाउन कमाउने अवसर पनि
बनेको छ। श्रम र पसिना चल्दासम्म स्वागत गरेको सहरले संकटमा श्रमिकलाई
लखेटेको छ। पृथ्वीराजमार्गमा चप्पल पड्काउँदै लावालस्कर लागेर तराई झरेका
मजदुरका पीडा यत्तिबेला शब्दमा लेख्न नसकेको अनुभूति भएको छ।
लकडान सुरु भएताका भारतीय सीमाबाट हुलका
हुल नेपाल भित्रिने क्रम बढ्यो। जब चौथो चरणको १५ दिने लकडाउन सुरु भयो,
पहाडबाट हुलका हुल तराई र पश्चिम नेपाल जाने क्रम बढेको छ।
भूकम्पपछिको पुनर्निर्माणका लागि
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा,
लम्जुङ, धादिङ र रसुवा पुगेका मजदुर यत्तिबेला पृथ्वीराजमार्ग हुँदै लकडाउन
छल्न र पेट भर्न तराई झरिरहेका छन्। उनीहरुको साथमा बालबच्चा, गर्भवतीसमेत
सडकमा पैदलै छन्। सातादिनदेखि बालबच्चा र गर्भवतीसँगै सडकमै रात काटेर
हिँड्नुको विकल्प उनीहरुसँग छैन। चप्पल चुडिएकाहरु खाली खुट्टा छन्।
हिँड्दाहिँड्दै खुट्टामा फोका उठेर फुटेकाहरु हातमा चप्पल बोकेर खाली
खुट्टा खोच्याउँदै गन्तव्यतर्फ लम्किरहेका छन्।
यो सकसपूर्ण यात्रा बारे जताततै चर्चा छ।
मानवीय संवेदनामाथि बेवास्ता गरिएको भनेर सरकारप्रति विभिन्न टिकाटिप्पणी
भइरहेका छन्। यो यथार्थ सुन्नेलाई भन्दा देख्नेलाई र देख्नेलाई भन्दा
भोग्नेलाई दर्दनाक छ। शुक्रबार बिहानै पृथ्वीराजमार्गमा निस्कदा तराई झर्ने
ठूलासाना धेरै टोली भेटिए।
0 on: "सहरले लखेटेका श्रमिकको सडकमा विचल्ली"