काठमाडौँ — विदेशी आरोही तथा उनीहरूलाई सघाउने शेर्पाहरूसहित आइतबार साँझसम्म एकै दिन कम्तीमा १ सय ८० जना सगरमाथा चुचुरोमा पुगेका छन् ।
चालु सिजनका लागि यो एकै दिन पुगेकाको सर्वाधिक संख्या हो । पर्यटन विभागकी निर्देशक मीरा आचार्यले आइतबार एकै दिन यति धेरै संख्यामा आरोही शिखरमा पुगेको खबर आएको बताइन् । यसपटक धेरै टोलीलाई आरोहण व्यवस्थापन गर्ने सेभेन समिटका अध्यक्ष मिग्मा शेर्पाका अनुसार १२ दिनपछि मौसमले साथ दिएकाले एकै दिन सर्वाधिक संख्यामा आरोही शिखरमा पुगेका हुन् ।
यस पटक ४ सय ८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यीमध्ये आइतबारसम्म आरोहण गर्नेको संख्या तीन सय नाघेको अनुमान छ । यस पटक वैशाख २४ बाट सगरमाथा आरोहण सुरु भएको थियो । सगरमाथामा हालसम्म एक नेपाली गाइड र दुई विदेशी आरोहीको मृत्युका घटना पनि भएको छ । व्यवस्थापन कम्पनीहरूले अझै करिब दुई साता सगरमाथा आरोहण चल्ने प्रक्षेपण गरेका छन् ।
0 on: "एकै दिन १८० जना सगरमाथामा"